Ticker

6/recent/ticker-posts

Ad Code

चिनियाँ बौद्ध भिक्षु फाहियानको बौद्ध भुमीको ऐतिहासिक यात्रा र लुम्बिनी

✒️विकल्प बम्जन
चिनियाँ बौद्ध भिक्षु फाहियानको बौद्ध भुमीको ऐतिहासिक यात्रा र लुम्बिनी

फाहियान, जसलाई फा-हियान वा फा-जियान पनि भनिन्छ, चौथो र पाँचौं शताब्दीका एक प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु तथा यात्री थिए। उनले बौद्ध ग्रन्थहरूको खोजी गर्दै नेपाल, भारत, श्रीलंका, र जावा जस्ता प्रमुख बौद्ध सभ्यताका केन्द्रहरूको यात्रा गरे। बुद्ध धम्मलाई चीनमा फैलाउन फाहियानको यात्राले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनका अनुभव र योगदानले नेपाल, भारत, र अन्य बौद्ध राज्यहरूको इतिहास र समाजलाई बुझ्न अद्वितीय स्रोत प्रदान गरेको छ।

फाहियानको प्रारम्भिक जीवन

फाहियानको नामको अर्थ "धम्म गुरु" हो। ‘फा’ को अर्थ धम्म र ‘हियान’ को अर्थ गुरु हुन्छ। फाहियानको जन्म सन् ३३७ मा चीनको उयाङ भन्ने ठाउँमा भएको मानिन्छ। बाल्यकालमै गम्भीर रोगले उनलाई सताएको थियो। रोगको कारण उनका बाबुले उनलाई भिक्षु संघमा पठाए, जहाँ उनले धम्म शिक्षा लिन थाले। संघमा रहँदा उनले गहिरो अध्ययन गरे, बौद्ध दर्शनका सिद्धान्तलाई आत्मसात गरे, र पछि धम्म प्रचारक बने।


उनको बाल्यकालको नाम कुङ थियो। गम्भीर स्वास्थ्य समस्या भएकै कारण उनलाई प्रारम्भिक उमेरमै भिक्षु बनाइएको थियो। भिक्षु संघमा प्रवेश गरेपछि फाहियानले त्रिपिटकका ग्रन्थहरूको अध्ययन गरे। अध्ययनकै क्रममा उनले बौद्ध ग्रन्थहरू अपूर्ण रहेको महसुस गरे। यसले उनलाई नयाँ सोचतर्फ प्रेरित गर्‍यो—यानी, ती ग्रन्थहरू खोजी गर्न र पूर्ण बनाउन यात्रामा निस्कने।


फाहियानको यात्रा प्रारम्भ


सन् ३९९ मा फाहियानले आफ्नो यात्राको सुरुवात गरे। चीनको चाङआनस्थित बिहारमा उनले तावचिङ, हेकिङ, हेइङ र हेवेई नामका चार अन्य भिक्षुसँग भेट गरे। पाँचै जना भिक्षुहरूले बौद्ध ग्रन्थहरूको खोजी र धम्म प्रचारका लागि भारत उपमहाद्वीपको यात्रा गर्ने योजना बनाए।

यो यात्रा केवल धम्म प्रचारको उद्देश्यले मात्र नभई तत्कालीन समाजको अध्ययनका लागि पनि महत्त्वपूर्ण थियो। फाहियानको यात्राले प्राचीन सभ्यता, संस्कृतिहरूको गहिरो अध्ययन गर्न अवसर प्रदान गर्‍यो।


फाहियानको लुम्बिनी यात्रा

फाहियानको लुम्बिनी यात्रा


फाहियानको यात्रामा लुम्बिनीको विशेष स्थान छ। लुम्बिनी, जहाँ बुद्धको जन्म भएको थियो, फाहियानका लागि अत्यन्त महत्त्वपूर्ण स्थान  थियो। उनका पुस्तक "फो-कोउ-किउ" मा लुम्बिनीको वर्णन गरिएको छ।

उनले लेखेका डायरीबाट स्पष्ट हुन्छ कि लुम्बिनी बुद्ध धम्मको महत्त्वपूर्ण केन्द्र मात्र थिएन, बरु तत्कालीन समाजको बौद्ध संस्कृति र परम्पराको पनि केन्द्रविन्दु थियो।


फाहियानको पुस्तक र यसले दिएको ज्ञान


फाहियानले आफ्नो यात्राका अनुभव र तत्कालीन जम्बुद्वीपको बौद्ध धम्मको अवस्थाबारे "फो-कोउ-किउ" शीर्षकको पुस्तक लेखे। यो पुस्तकले फाहियानको यात्रामा देखेका भौगोलिक, सांस्कृतिक, र बौद्ध संस्कृतिको पक्षहरूलाई उजागर गर्छ।

मूल रूपमा यो विवरण चिनियाँ भाषामा थियो। पछि अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात प्रोफेसर जेम्स लेगीले यसलाई अंग्रेजीमा अनुवाद गरे। हिन्दी भाषामा यो अनुवाद जगनमोहन वर्माले गरेका छन्।

फाहियानका लेखनबाट के बुझ्न सकिन्छ?

१. तत्कालीन नेपाल र भारतको सामाजिक र आर्थिक अवस्था।

२. बुद्ध धम्मको प्रभाव र यसको प्रचार-प्रसार।

३. लुम्बिनी र अन्य बौद्ध साँस्कृतिक केन्द्रहरूको जानकारी ।

फाहियानको लुम्बिनी यात्रा

तत्कालीन समाज र बौद्ध धम्मको अवस्था


फाहियानका यात्रा वृत्तान्तले चौथो र पाँचौं शताब्दीका बौद्ध राज्यहरूको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थाको सजीव चित्रण गर्छन्। उनका लेखनमा लुम्बिनी र अन्य स्थानहरूको उल्लेखले समाजको संरचना, धम्मप्रतिको विश्वास र जनजीवनको अवस्था स्पष्ट देख्न सकिन्छ।

उनले यात्रा गर्ने क्रममा धेरै कठिनाइहरूको सामना गरे। पहाडी मार्गहरू, घना जङ्गल, र सीमित स्रोतका बीच पनि उनले आफ्नो उद्देश्यलाई प्राथमिकता दिए। उनी केवल एक भिक्षु मात्र नभई समाजशास्त्री र ऐतिहासिक दस्तावेजकर्ताको रुपमा पनि प्रख्यात भए।


फाहियानको योगदान


फाहियानले बौद्ध धम्मलाई चीनमा फैलाउन ठूलो भूमिका खेले। उनले त्रिपिटकका अपूर्ण अंशहरू संकलन गरे र चीनमा लगे। उनका लेखहरू प्राचीन नेपाल, भारत, र बौद्ध धम्मको इतिहास बुझ्न महत्त्वपूर्ण स्रोत बनेका छन्।उनको लुम्बिनी भ्रमणले गर्दा बुद्धको जन्मस्थललाई ठोस पहिचान गर्न सफल भएको छ साथै अन्तर्राष्ट्रिय महत्त्व पाएको छ। लुम्बिनीका पुरातात्त्विक सबुत, स्तूप, र अन्य संरचनाहरूको वर्णनले त्यस क्षेत्रको सांस्कृतिक धरोहरको महत्त्वलाई अझ उजागर गर्‍यो।

निष्कर्ष


फाहियानको योगदान बौद्ध धम्मको प्रचार-प्रसार मात्र नभई प्राचीन समाजको अध्ययनका लागि पनि महत्त्वपूर्ण छ। उनका यात्रा वृत्तान्तले नेपाल र भारतको राजनीतिक,आर्थिक , सांस्कृतिक, र सामाजिक अवस्थाबारे गहिरो जानकारी दिन्छ।

लुम्बिनीलाई फाहियानका आँखाबाट हेर्दा बुद्ध धम्मको सांस्कृतिक धरोहरको झलक मात्र होइन, त्यस समयमा नेपाल र भारतको ऐतिहासिक अवस्थाको सजीव चित्र पनि देख्न सकिन्छ।

उनका लेखन आज पनि बौद्ध दर्शन, पुरातत्व, र इतिहासका अनुसन्धानकर्ताका लागि अनुपम स्रोत बनेका छन्। उनका अनुभव र योगदानले प्राचीन सभ्यताको उज्यालो पाटोलाई आज पनि जीवन्त बनाई राखेको छ।


Post a Comment

0 Comments